सुकबहादुर चेपाङलाई ७२ वर्षको उमेरमा नागरिकता
गोरखा | बैशाख १६, २०८०
गोरखा: गोरखाको गण्डकी गाउँपालिका वडा नम्वर १ मकैसिंका सुकबहादुर चेपाङले ७२ वर्षको उमेरमा नागरिकता पाएका छन् । वडा कार्यालयबाट भएको सिफारिस लगायतका कागजातका आधारमा जिल्ला प्रशासन कार्यालयले शुक्रवार उनलाई नागरिकता प्रदान गरेको हो ।
नागरिकतामा जन्ममिति २००८ साल असार १० गते उल्लेख गरिएको छ । ‘बल हुँदासम्म चितवनका विभिन्न ठाउँमा अरुकै घरमा काम गरेर बस्यो, अब बृद्धावस्थामा सहाराको खोजी गर्दै गाउँ फर्केपछि भत्ताको पनि कुरा आयो’ वडा सदस्य कमानसिं प्रजाले भने, ‘बुवा, आमा, श्रीमती, छोराछोरी कोही पनि छैनन् त्यही भएर पनि उतिबेला नागरिकताको चासो भएन, अहिले भत्ताकै लागि नागरिकता चाहिने भयो ।’
वंशजको आधारमा नागरिकता प्राप्त गर्नका लागि आवश्यक पर्ने बलियो कागजात जुटाउन समय लाग्दा यसअघि ३ पटकसम्म प्रशासन कार्यालय पुगेर फर्किनु परेको वडा सदस्य कमानसिंले बताए ।
‘उनको नाताहरु पुष्टि नभएपछि वडाको सर्जमिन, प्रहरीको मुचुल्का, बुवा आमाको मृत्यु भएको पुष्टि हुने कागजात तयार गर्यौं’ कमानसिंले भने ‘४÷५ दिन दुःख पाइयो, सिडियो र सहायक सिडिओले धेरै सहयोग गर्नुभयो, हामीले पनि सबै यथार्थ कुरा भनिदियौं म पनि साक्षी बसें अनि नागरिकता बन्यो ।’
नागरिकता प्राप्तिका लागि भतिजा रामबहादुर चेपाङले सनाखत गरे । चेपाङ समुदायमा असाध्यै खाँचो परेपछि मात्रै सरकारी कागजातको खोजी गर्ने क्रम अझै पनि रहेको गाऊँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बताए ।
‘नागरिकता भएको भए २ वर्ष पहिलेदेखिनै बृद्धभत्ता पाउनुहुन्थ्यो, ढिलै भए पनि एउटा प्रक्रिया पूरा भएको छ, अब हामी भत्ताका लागि छिट्टै प्रक्रिया पूरा गर्छौं ।’ परिवार र घरबारबिहिन सुकबहादुरलाई अब आफूले पालनपोषण गर्ने भतिजा रामबहादुरले बताए ।
‘दुई छाक भातको भरमा चितवनमा अरुको घरमा काम गरेर बस्यो, अहिले बुढेसकालमा न ज्यान छ न धन छ’ उनले भने, ‘महिनाको चार हजार भत्ताले उसको उपचार र दुई छाक खान पुगिहाल्ला ।’
सुकबहादुरले लामो समय अरुको घरमा काम गरेवापतको श्रमको मूल्य दिलाउन पहल गर्ने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताए ‘एउटा विपन्न वर्गको मान्छेलाई वर्षौंसम्म बिना ज्याला काम लगाए, चितवन प्रशासनको समन्वयमा उनले कहाँ कहाँ कति कति वर्ष काम गरे भन्ने पत्ता लगाएर न्यूनतम भए पनि ज्याला दिलाउन पहल गरेका छौं’ भुषालले भने । श्रमको ज्याला प्राप्त हुन सकेमा बैङ्कमा जम्मा गर्दिएर त्यसैबाट घरखर्च चलाउन सजिलो हुने उनले बताए ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

